भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने तयारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ कात्तिक ।

भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई परीक्षण उडानको अनुमति पाएको हो ।

एरो थाइको परीक्षण उडानका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । उक्त एअरलाइनले एक महिना भित्रै परीक्षण उडान गर्ने बताईएको छ । विमान अवतरण र उडानका लागि धावनमार्ग र टावरको सहजतालगायतका विषय परीक्षण उडानका क्रममा हेर्ने गरिन्छ ।

बाग्मती प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार विश्वासको मत मागेका हुन् । उनको प्रस्तावमाथि अहिले दलीय धारणा राख्ने कार्य भइरहेको छ ।

बागमतीमा हाल १०९ प्रदेशसभा सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् ।

तर, गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध रहेकाले उनले विश्वासको मत पाउने सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।