सल्यान बस दुर्घटना : मृतक १२ मध्ये आठ जनाको पहिचान

हाम्रो सन्देश संवाददाता

दाङ, २१ कात्तिक ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तीव्र गतिमा थियो ।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका–१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा–२ कि ६१ वर्षीया मिना डाँगी, शारदा–३ कि ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ काभ्रा कि २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने ६० वर्षीया डुली रेउले, बबई–६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी–२ का २९ वर्षीय तिलक ओली रहेका प्रहरीले जानकारी दिएको छ ।

भैरहवाका साइकल यात्री अर्घाखाँचीको यात्रामा

भैरहवा साइकल सिटीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न अर्घाखाँची साइकल यात्रा गरेको छ । साईकल सिटी भैरहवाका राइडरहरूले तिहारको बिदालाई सदुपयोग गर्दै आइतबार बिहान अर्घाखाँचीका लागि यात्रा तय गरेका हुन ।

पर्यटनलाई थप ऊर्जा थप्न ‘अर्घाखाँची साइकल यात्रा–२०७८’ गरिएको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारु मगरले बताए ।

‘हाम्रो यात्रा तीन दिनसम्म रहने छ, आइतबार बिहान ५.३० बजे बुध्दचोकबाट यात्रा सुरु भएको छ । आइतबार कपिलवस्तु गोरुसिङ्गे हुँदै नरपानीमा बसाइ रहनेछ ।

सोमबार बिहान सन्धिखर्क बजार अवलोकन भ्रमण गर्ने, मंगलबार नरपानीदेखि ढोरपाटन सडक, सालझण्डी हुँदै भैरहवा फर्किने कार्यक्रम रहेको उनले बताए ।

विपिन रेग्मीको संयोजकत्वमा १४ सदस्यीय साइकिलिस्टको टोली उक्त यात्रामा सहभागी छन् । कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित साइकल यात्रा गरेको अध्यक्ष सारु मगरले बताए ।