नक्कली विज्ञप्ति सार्वजनिक भएपछि एमालेमा खैलाबैला

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ कात्तिक ।

न्यायालयको विवादबारे बुधबार दुई वटा कानुन व्यवसायी संस्थाका विज्ञप्ति सार्वजनिक भए । त्यसमध्ये एउटा विज्ञप्ति नक्कली भएको पाइएको छ ।

सार्वजनिक प्रेस विज्ञप्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) मा खैलाबैला मच्चिएको छ ।

बुधबार बिहान पीपीएलएका कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा इजलास नबसेकामा विरोध जनाइएको छ ।

त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशमाथि भागवण्डा र सेटिङको प्रश्न उठ्नु दुखद भन्दै त्यस्ता विषयमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

‘न्यायिक उपचार प्रदान गर्न संविधानले प्रदान गरेको सम्मानित कार्य र दायित्वबाट सर्वोच्च अदालतका माननीय न्यायायाधीश पन्छिन सर्वथा मिल्दैन’ विज्ञप्तिमा भनिएको थियो ।

‘न्यायिक मूल्य मान्यता र लोकतन्त्रका आधारभूत मूल्य मान्यता भन्दा बाहिर गई भए गरेका यस्तो कार्य तत्काल बन्द गरी सबै प्रकारका मुद्दाहरुको सुनुवाइ अविलम्ब गर्न आह्वान गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

तर पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपालले उक्त विज्ञप्तिको खण्डन गरेका छन् । बुधबार साँझ विज्ञप्ति निकाल्दै उनले विहान जारी विज्ञप्ति आधिकारिक नभएको उल्लेख गरेका छन् ।

‘यस संस्थाको अध्यक्षको जिम्मेवारीमा म रहि आएको अवस्थामा संस्थागत निर्णयबिना जारी गरिएको उक्त विज्ञप्ति संस्थाको आधिकारिक नभएको व्यहोरा जानकारी गराउदछु’ उनले भनेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनमा रहेका बेला एमाले निकट कानुन व्यवसायीहरुको संगठन विभाजित रुपमा प्रकट भएको हो ।