तिहारको मुखमा धादिङमा दुर्घटनामा दुई जनाको अकालमै ज्यान गएपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अन्य सात जना घाइते छन्। घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।

यस्तै, जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सह–चालक रहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।