एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष भ्रष्टाचार अभियोगमा निलम्बन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

भ्रष्टाचार अभियोग लागेका कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान निलम्बनमा हेटौँडा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौंले पत्र पठाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १५ गते भ्रष्टाचार अभियोगमा अध्यक्ष मोक्तानसहित कर्मचारीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

असोज १७ गते नै अध्यक्ष मोक्तानलाई निलम्बन गर्न विशेष अदालत काठमाडौंले पत्र पठाएपनि सो पत्र गाउँपालिकाको कार्यालयमा कात्तिक ९ गते मात्रै दर्ता भएको हो।

त्यसयता अध्यक्ष मोक्तान गाउँपालिकाको कार्यालय गएका छैनन्।

हाल उपाध्यक्ष सुकुमाया थिङले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन्। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष मोक्तान एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

उनी एकीकृत समाजवादी मकवानपुरका नेता हुन्।