‘ओलीलाई भोट माग्न बुवा झापा नगएको भए भाइको ज्यान जोगिन सक्थ्यो’: प्रचण्डपुत्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले आफ्ना भाइ प्रकाश दाहालको मृत्युबारे नयाँ विषय बाहिर ल्याएकी छिन् । भरतपुर नगरपालिकाकी मेयरसमेत रहेकी रेणुले आफ्ना बुवा प्रचण्ड ०७४ सालको प्रतिनिधिसभाको चुनावमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न झापा गएका कारण आफूहरुले भाइको ज्यान गुमाउने परेको बताएकी छिन् ।

पिता प्रचण्ड झापा नगएको भए आफ्नो भाइ प्रकाशको ज्यान जोगिन पनि सक्ने भन्दै सामाजिक सञ्जालमा उनले लामो स्टाटस लेखेकी छन् । सोमबार मात्र चितवनमा आयोजित कार्यक्रममा ओलीले प्रतिनिधिसभाको चुनाव र स्थानीयगरी दुईपटक प्रचण्ड र उनकी छोरी रेणुका लागि आफूले भोट मागेको बताउँदै अब त्यो गल्ती नदोहोर्याउने बताएका थिए । त्यसैको प्रक्रियास्वरुप रेणुले ओलीलाई सघाउन जाँदा आफूहरुले पारिवारिक पीडा भोग्नु्परेको बताएकी हुन् ।

‘ओलीलाई भोट माग्न उनकै क्षेत्रमा अध्यक्ष क. प्रचण्ड झापा जाँदा आमामात्रै त्यही पनि पार्किन्सनको बिरामी भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आइ दुखःद घटना घट्यो’, उनले फेसबुकमा लेखेकी छिन्, ‘घरमा परिवारका सदस्य कोही पनि नभएको बेला सबै आ–आफ्नो चुनावी मैदानमा बिरामी आमामात्र घरमा हुनुहुन्थ्यो । सयममा उपचार नपाएर भाइ बित्यो । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्यान पनि जोगिन सक्थ्यो कि !’

प्रचण्डपुत्र प्रकाशको ०७४ सालमा प्रतिनिधिसभाको चुनाव दौरान काठमाडौंमा निधन भएको थियो ।

राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथलगतै मन्त्रीहरूलाई पनि सपथ गराउने तयारीमा गठबन्धदन दलहरू जुटेका छन् । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।

मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।

एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको सम्भवाना बलियो देखिएको छ । मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचिबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लाने सम्भावना छ ।

मंगलबार अपरान्ह ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।