दीपकराज गिरी र रोहित अधिकारीको फिल्म निर्देशन गर्दै हेमराज विसी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ कात्तिक ।

अभिनेता दीपकराज गिरीको समूह र रोहित अधिकारीले निर्माण गर्ने फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने भएका छन् ।

रोहितसँग गाजलु फिल्ममा काम गरिसकेका हेमराजले पछिल्लो समय सोसल कमेडी जनरमा ‘घामड शेरे’ निर्देशन गरेका थिए । सोही फिल्ममा दीपकको समूहले फिल्ममा सहकार्य गर्ने प्रस्ताव गरेका थियाे । त्यसबेला सहकार्य नभए पनि दीपककाे समूह र विसीबीच सहकार्य हुन लागेको छ । दीपकको समूहले रोहितसँग ‘छ माया छपक्कै’ मा सहकार्य गरेको थियो ।

हेमराजकै कथा रहेको फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढो’ को अभिनय रहनेछ । कथामा हेमराजसँग दीपकको समूहले छलफल गरेर स्क्रिन प्ले तयार गर्ने तयारी भइरहेको छ ।

‘हामीले कुराकानी अगाडि बढाएका छौँ र सहकार्य गर्छौँ’, दीपकले न्युज कारखानासँग भने, ‘यो बेला एकआपसमा सहकार्य गरेर निर्माता सुरक्षित हुने र दर्शक पनि हलसम्म तानिने फिल्म बनाउनुको विकल्प छैन ।’ उनले आफ्नो टिम सहकार्यका लागि सदैव तयार रहेकोसमेत बताए ।

‘हामी सहकार्यका लागि तयार छौँ किनकि हाम्रो उद्देश्य नेपाली फिल्मको बजारलाई विस्तार गर्नु नै हो’, दीपकले भने, ‘हेमराजजीसँगको फिल्म सम्भवत: यो वर्षको अन्त्य वा आउँदो वर्षको पहिलो महिनामा छायांकनमा जानेछ ।