केन्द्र देखि प्रदेशसम्म एमाले पत्तासाफ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

नेकपा एमाले आजबाट केन्द्र देखि प्रदेश सरकारहरुमा सुन्य अवस्थामा पुगेको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै एमाले अब ७ वटै प्रदेशहरुमा प्रतिपक्षीमा पुगेको छ । विगतमा केन्द्र देखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले प्रतिपक्षमा पुगेको हो ।

केपी शर्मा ओलीविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई लागेपछि अहिलेको अवस्थासम्म देश पुगेको हो । नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि कर्णाली प्रदेशमा फ्लोर क्रस भई माओवादी नेतृत्वको सरकार जोगिएको थियो ।

सुदूरपश्चिममा पनि माओवादी नेतृत्वको सरकार जोगिए । त्यसपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो । केन्द्रमा ओली नेतृत्वको सरकार ढल्यो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि दशैलगत्तै बागमतीमा पनि एमाले सरकार ढल्यो । अहिले आएर प्रदेश १ को सरकार ढल्यो । अब स्थानीय निकायहरुमा मात्र एमालेको नेतृत्वको स्थानीय सरकार रहेको छ । ओलीले यसबीच पकडहरु गुमाउँदै गएका छन् ।

यो घटनाले नेकपा विभाजनपछि धक्का खाएको र एमाले विभाजनपछि झन् ठूलो धक्का खाएको देखिदै गएको छ ।