बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाकाे घोषणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा साेमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन ।

गिरिजाप्रसाद काेइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियाे नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तार दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।

न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनुपर्ने उनको तर्क छ । कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उनको भनाइ थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गरिन् ।