एमाले महाधिवेशन : तेह्रथुममा ४३ मध्ये ३९ वडाको सम्पन्न

हाम्रो सन्देश संवाददाता

तेह्रथुम, १५ कात्तिक ।

एमाले तेह्रथुमले एक साता बितिसक्दा पनि वडा अधिवेशन सम्पन्न गर्न सकेको छैन । एमालेले ६ कात्तिकमा देशैभरको वडा अधिवेशन तोके पनि तेह्रथुममा बाढीपहिरोले गर्दा समयमै अधिवेशन सम्पन्न गर्न नसकेको जनाएको छ ।

जिल्लाको कतिपय वडाहरू दुर्गममा छन्। गाउँगाउँमा सडक अवरुद्ध भएकाले ४३ मध्ये ३९ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । गत ६ कात्तिकबाट सुरु भएको वडा अधिवेशन आइतबारसम्म ३९ वटा वडामा सम्पन्न भएको हो ।

जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकाको १० र मेन्छ्यायेम गाउँपालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भएका छन् । छथर गाउँपालिकामा ६ मध्ये एक, लालिगुराँस नगरपालिकामा नाैमध्ये एक, फेदाप गाउँपालिकामा पाँचमध्ये एक र आठराई गाउँपालिकामा सातमध्ये एक वडामा बाँकी रहेको एमाले तेह्रथुमका जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए ।

जिल्लाको ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले तीनवटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ । छथर गाउँपालिका-५ र आठराई गाउँपालिका-४ मा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको हो । वडा अधिवेशन आगामी १७ गतेसम्म सम्पन्न गर्ने तयारी रहेको बताइएको छ । नेतृत्व चयनमा भने समस्या नरहेको एमाले तेह्रथुमले दाबी गरेकाे छ ।