म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतमार्फत नेकपा फुटाइयोः प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तत्कालीन नेकपा पार्टी विभाजन नियोजित षड्यन्त्र रहेको बताएका छन् ।

उनले पार्टीभित्रै केपी शर्मा ओली कमजोर भइसकेको बेला आफू प्रधानमन्त्री हुने निश्चित भएको दिन अदालतमार्फत् नेकपा विभाजन गराइएको बताए ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूसँग ७५ प्रतिशत बहुमत पुगिसकेको दाबी गरे ।

तर आफू प्रधानमन्त्री हुने निश्चित हुनलाग्दा पार्टी विभाजन गराइएको बताए ।

उनले भने, ‘हाम्रो ९पार्टी एकीकरणको० सपना गलत थिएन, सही थियो । देशभरका जनताले पनि मूल्याङ्कन गरेकै थिए । तर ओली अवसरवादी भए ।

उनी नसुध्रिएपछि हामीले कारबाही गरेका हौँ । हामी उतिबेला माइतीघरमा धर्ना बस्दा ओली समूहले बिचरा भनेका थिए । तर पछि विशाल हुरीमा परिणत भयो र सेटिङ भत्कियो । पार्टी विभाजन भएको होइन, गराइएको थियो ।’

पार्टीभित्रैबाट ओलीको विकल्पमा आफूलाई संसदीय नेता बनाइएपछि आफू प्रधानमन्त्री हुने पक्का भएको प्रचण्डको दाबी थियो । उनले भने, ‘संसदीय दलको नेतामा मलाई चयन गरिएको थियो ।

म प्रधानमन्त्री हुने निश्चित भएकै दिन उता अदालतले दुई पार्टी दुइटा बनाइदियो ।’

नेकपा सम्बन्धी विवादमा सर्वोच्च अदालतले गत फागुन २२ गते फैसला गर्दै साविक नेकपा एमाले र एकीकृत माओवादी अलग नै रहेको, एकीकरण वैधानिक नभएको आदेश दिएको थियो । त्यसपछि तत्कालीन सबैभन्दा ठूलो र सत्तारुढ दल नेकपा विभाजनतर्फ लम्कियो ।

यस्तै, प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको र राजतन्त्र फर्काउने बाटोमा लागेको समेत आरोप लगाए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर ओलीले मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने वचन दिएको समेत प्रचण्डको आरोप थियो ।