एमाललेलाई गम्भिर धक्का , भिम रावलले चाले यस्तो कदम !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्। उक्त सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै उनले राजीनामा दिएका हुन् ।

‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु,’ राजीनामा दिँदै उनले भनेका छन्।

अध्यक्ष ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो।

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो।साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए।

‘कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो। एमालेको सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्ने एमालेको कार्यदलबाट मैले राजीनामा किन दिएँ भन्ने कुरा सम्बन्धित सबैले थाहा पाउनु आवश्यक छ,’ उनले भनेका छन्।

राजीनामा पत्रमा रावलले के लेखेका छन् रु २०७८ कार्तिक ५ गते तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बसेको स्थायी कमिटीको बैठकमा १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन ९अपानि०–१२ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलका क्रममा मैले सहमतिका लागि गरिएका प्रयत्नहरु तथा १० बुँदे सहमतिको अवस्थाबारे यथार्थ चित्रण गर्दै लिखितरुपमा जानकारी गराएको थिएँ।

तत्पश्चात् त्यस विषयमा विचार व्यक्त गर्नु हुने स्थायी कमिटीका सबै नेताहरुले सहमतिको शीघ्र कार्यान्वयन र समस्या समाधानमा जोड दिनुभएको थियो। तर उक्त विषयमा पार्टी अध्यक्षबाट निष्कर्ष प्रस्तुत गर्ने सिलसिलामा स्थायी कमिटीका सदस्यहरुको धारणा र सुझाव तथा विगतका अनेकौं छलफल, सहमति र निर्णयको कार्यान्वयनप्रति सकारात्मक धारणा नराखी १० बुँदे सहमति र अपानि–१२ को औचित्य नै नरहेको अर्थ लाग्ने अभिव्यक्ति दिनुभएकोले त्यसप्रति मैले विमति जनाएको थिएँ।

साथै पार्टीले विभाजनको विषम स्थितिको सामना गरिरहेकोले सहमति र निर्णयको सम्मान गर्दै पार्टीलाई एकताबद्ध तुल्याउनुपर्नेमा जोड दिएर आफ्नो फरक मत बैठकमा दर्ज गरेको थिएँ।

दस बुँदे सहमति र अपानि–१२ को कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधान गर्न गठित कार्यदलमा भएका छलफल र निर्णयको कतिपय ठाउँमा कार्यान्वयन नभइरहेको बेला पार्टी अध्यक्षबाट नै उक्त प्रकारको निष्कर्ष आएपछि प्रयोजनहीन हुने कार्यदलमा बसिरहनुको कुनै तात्पर्य नहुने महसुश गरी मैले तत्काल स्थायी कमिटीको बैठकमा नै मौखिकरुपमा कार्यदलबाट राजीनामा दिएको घोषणा गर्दै राजीनामाको लिखत अविलम्ब पेश गर्ने जानकारी गराएको थिएँ।