राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको ५ दिने अल्टिमेटम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ कात्तिक ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा (अल्टिमेटम) दिएको छ ।

यसअघि नै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको बारले आज शुक्रवार कार्यसमितिको बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गरी राजीनामा दिन अल्टिमेटम दिएको हो ।

पर्सि आइतवरदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ ।

बारले तय गरेका कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारका महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१५ न्यायाधीशविरुद्ध परमादेशको माग गर्दै सर्वोच्चमा रिट दर्ता

सर्वोच्च अदालतका १५ न्यायाधीशहरुले न्यायको हक उल्लङ्घन गरेको भन्दै पेसीको सूचीमा रहेका मुद्दा हेर्न परमादेशको माग गर्दै रिट दर्ता गरिएको छ ।

कृष्ण प्रसाईँसहितका अधिवक्ताहरूले १५ न्यायाधीशविरुद्ध दर्ता गरेको रिटमा शुक्रवारबाटै मुद्दा स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न माग गरिएको छ ।

‘सर्वसाधारणको बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दामा तत्काल सुनुवाइ हुन पर्ने संविधानको धारा २० समेत बमोजिमको न्याय सम्बन्धी हक उल्लङ्घन हुन गएको कारण यसबिचमा केही माननीय न्यायाधीशहरू बिदामा बस्नु भएको भन्ने जानकारी आएको रिटमा भनिएको छ, ।’

‘विपक्षी माननीय न्यायाधीशज्यूहरूका नाममा आजैको मितिदेखि संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने ब्यहोराको परमादेश जारी गरिपाऊँ,’ रिटमा उल्लेख छ ।