माओवादी मात्र होइन सबै कमन्युष्टहरुको ध्रुवीकरण जरुरी छ – विप्लव

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ कात्तिक ।

नेपाल कमन्युष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादी मात्र नभएर समग्र कमन्युष्ट विचारधाराहरुको ध्रुवीकरण जरुरी भएको बताएका छन् ।

परिवर्तनका लागि बिगतमा भएका सम्पूर्ण आन्दोलनहरुको प्रतिफल अहिलेको उपलब्धि भएको बताउदै महासचिव विप्लवले अहिलेको परिवर्तन नै अन्तिम नभएकाले अर्को आन्दोलन जरुरी रहेको बताए ।

राष्ट्रको बागडोर सम्हालेको अहिलेको नेतृत्व अब पुरानो भैसकेकाले पुराना नेताहरुलाई ससम्मान बिदा गर्दै युवाहरु राष्ट्रको नेतृत्वमा आउनुपर्ने बेला आएको विप्लवको भनाइ रहेको थियो ।

आफ्नो पार्टी निकट युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न दाङ आएका महासचिव विप्लवले अहिलेका ठुला पार्टीका नेताहरु बिचारमा जनताहरु भन्दा पनि कमजोर भएको जिकिर गरे ।

अहिलेको जनताले समाजवाद खोजेको भएपनि नेताहरु अझै समाजवादको यात्रा तय गर्न नसक्नु गम्भीर भुल भएको उनको भनाइ रहेको थियो ।

वर्तमान नेतृत्वले जनताको चाहाना अनुकुल नेतृत्व गर्न नसकेको बताउदै अब बुढा भएका बिचारहरुलाई ससम्मान बिदा गरेर नयाँ बिचार र नयाँ नेतृत्वले देशलाई अगाडी बढाएर समाजवादमा पुग्नुपर्ने उनको भनाई रहेको थियो ।