वामदेवपछि अर्का प्रभावशाली नेताले पनि गरे आजैबाट एमाले छाडेको घोषणा, बालकोटमा सन्नाटा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ९ कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले छाडेको महिना दिन नबित्दैं अर्का प्रभावशाली नेताले एमाले छाडेको घोषणा गरेका छन् । नेकपा एमालेका नेता प्रभु साहले एमालेमा नरहने घोषणा गरेका हुन् । उनले माओवादीमा पनि नफर्कने निष्कर्ष निकालेका छन् ।

माओवादी परित्याग गरी एमालेमा लागेका पूर्वमन्त्री समेत रहेका साह माओवादी केन्द्रमा पनि नफकिर्दै अब उनले पुरानै नेकपालाई ब्युँताउन पुनर्गठनका लागि ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार गरेका हुन् ।

‘केपी ओलीले हाम्रा ८ बुँदे मागहरु पूरा नगरी केही नेतालाई टपक्क टिपेर पद बाँड्ने र फकाउने नीति मात्र लिएको हुनाले हामी एमालेमा रहन नसक्ने भयौं, प्रभु साह निकट एकजना नेताले भने, ‘त्यसैले अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागिएको हो । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली तयार भइसक्यो, केही दिनमै घोषणा हुन्छ ।

यसअघि साह नेकपा माओवादी केन्द्रमै फर्कने चर्चा चलेपनि माओवादीको मुख्य नेतृत्वले यसमा चासो नदेखाएले बेग्लै पार्टी बनाउने निर्णय लिएको स्रोतले बतायो । तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

नेकपा पुनर्गठन गर्ने साहको तयारीलाई एमालेभित्र रहेका अन्य पूर्वमाओवादी नेताहरुले पनि साथ रहनुका साथै केन्द्रीय कमिटीमा दुई दर्जन बढी पूर्वसभासदहरुको नाम समावेश हुने स्रोतको दाबी छ ।

रौतहट​का​ पूर्वमाओवादी सांसद एवं पूर्ववर्ती ओली नेतृत्वको सरकारका मन्त्री रहेका साहले यसअघि एमालेबाट असन्तुष्ट भई आइटी आर्मी गठन गरेका थिए । आइटी आर्मीको ब्यानरमा प्रदेश २ मा विभिन्न कार्यक्रमहरु गरेका उनले यसमार्फत सातै प्रदेशमा नेटवर्क बनिसकेको बताउँदै अब देशैभरि नेकपा पुनर्जाग्रित गर्ने लाइन लिएको स्रोतले बतायो ।