एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

हाम्रो सन्देश संवाददाता

सिरहा, ९ कात्तिक ।

सिरहा नगरपालिका-१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् ।

सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो ।

यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

खोटाङका १० पालिकामा एमालेको अधिवेशन हुँदै, ७५० जनाले नयाँ जिम्मेवारी पाउने

खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो । पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ । पालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप-सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिवेशन सर्वसहमति ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए ।

पालिका अधिवेशनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिवेशन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ । पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरीय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।