मोटरसाइकल आजगानी आरोपमा एक युवक पक्राउ

हाम्रो सन्देश संवाददाता

सिरहा, ८ कात्तिक ।

मोटरसाइकलमा आगजानी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डलको स.४प ४३३७ नम्बरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षीय दिपक साहलाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको हो ।

मण्डलले आफ्नै घर अगाडि सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत २६ असोजको राति आगजानी भएको थियो ।

पक्राउ परेका साहले व्यक्तिगत रिसइबीका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरीसामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेको साहमाथि म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाउने प्रहरीले बताएको छ ।

लमजुङमा एमालेको वडा अधिवेशन हुन बाँकी चार वडा

लमजुङका चारवटा वडामा नेकपा एमालेको वडा अधिवेशन हुन बाँकी छ । जिल्लाका ७५ वडाहरूमध्ये चारवटा वडामा वडा अधिवेशन नभएको नेकपा (एमाले) लमजुङका अध्यक्ष धनन्जय दवाडीले बताए ।

कूल ७५ वडा रहेकोमा विविध कारणले चारवटा वडाको अधिवेशन भने स्थगित भएको छ । बाँकी रहेका चारवटा वडाहरूमा सोमबारसम्म नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ । नेकपा एमाले लमजुङको शनिबार ६६ वडा र आइतबार पाँचवटा वडामा नेतृत्व चयनका कार्यक्रम सकिएका छन् ।

अधिवेशनमा जिल्लादेखि केन्द्रीयस्तरीय नेता आफ्नो वडामा खटिएका छन् । जिल्ला कमिटी अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य दवाडीले बेसीसहर नगरपालिकाको ७, दुधपोखरी गाउँपालिकाको पाँच र मर्स्याङ्दी गाउँपालिकाको २ र ९ नम्बर वडामा अधिवेशन स्थगित भएको हो ।

सम्पन्न भएका वडाहरूमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनको केन्द्रीय तालिकाअनुसार ९ कात्तिकमा पालिका अविधेशन हुँदैछ ।