‘ईल्लिगल’ बसिरहेकाहरुलाई आममाफीको समय बढ्दैनः मलेशिया

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ।

मलेशिया सरकारका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी(व्याक फर गुड) कार्यक्रमको समय नथपिने स्पष्ट पारेका छन् । मलेशियाका अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले सो कार्यक्रमको समय नथपिने भन्दै समयमै स्वदेश फर्किनु उचित हुने सल्लाह दिएको स्थानीय सञ्चार माध्यमले लेखका छन् ।

यसैबीच मलेशियामा अवैधानिक रुपमा बसिरहेका विदेशी कामदारलाई सहज रुपमा स्वदेश फर्किन यहाँको सरकारले ल्याएको कार्यक्रम व्याक फर गुड(बीफोरजी) कार्यक्रम सकिनै लाग्दा कागजात बनाउन दैनिक हजारौं व्यक्तिले आवेदन दिन थालेका छन् । मलेसियाको अध्यागमन कार्यालयहरुको तथ्याँक अनुसार सो कार्यक्रमको समय सकिन अव केवल एक हप्ता पनि बाँकी नरहेको अवस्थामा ठूलो भीड लाग्न थालेको देखिएको छ ।

पेनाङ्ग स्थित अध्यागमन कार्यालयले दुई दिनमा १ हजार २ सय व्यक्तिको कागजात बनाएको जनाएको छ । यसैगरी सुभाङ्गजया स्थित कार्यालयले पनि दैनिक ६ सयको हाराहारी व्यक्तिले कागजात बनाइरहेको जनाएको छ । आगामी डिसेम्वर ३१ भित्रमा अरु हजारौं व्यक्तिले कागजातका लागि निवेदन दिने आँकलन गरिएको अध्यागमन प्रमुख दाउदले बताएका छन् ।

सो कार्यक्रम अन्तर्गत मलेशियाले आफ्नो मुलुकमा अवैैधानिक(कागजातविहिन भएर) रुपमा बसिरहेका विदेशी नागरिकलाई ७ सय रिंगिट जरिवाना तिरेर सहज रुपमा स्वदेश फर्किन अवशर दिएको छ । यसरी स्वदेश फर्किएकाहरु पुनः मलेशिया आउन भनें पाउँदैनन् ।

गत अगष्टमा सुरु भएर ५ महिनाका लागि मलेशिया सरकारले अगाडी सारेको बीफोरजी कार्यक्रम यसअघिका आममाफी भन्दा तुलनात्मक रुपमा सहज मानिएको छ । सो कार्यक्रम अन्तर्गत हालसम्म पेनाङ्ग स्थित अध्यागमन कार्यालयबाट विभिन्न मुलुकका गरी ९ हजार ६ सय ७८ व्यक्तिले स्वदेश फर्किने कागजात बनाएका छन् ।

मलेशिया स्थित नेपाली दूतावासले पनि यो कार्यक्रम सुरु भएदेखि नै विभिन्न माध्यमद्धारा प्रचारप्रसार गरी अवैधानिक रुपमा मलेशियामा बस्दै आएका नेपालीलाई घर फर्किन आव्हान गरिरहेको छ ।

यसअघि मलेशियाले सन् २०१४ देखि २०१८ सम्म सञ्चालन गरेको आममाफीका क्रममा झण्डैै साढे आठ लाख व्यक्ति स्वदेश फर्किएका थिए । यसपटक सो समयमा दिइएको आममाफीको भन्दा न्यून जरिवानमा स्वदेश फर्किने अवशर दिइएपनि अपेक्षाकृत रुपमा धेरै विदेशी नागरिक स्वदेश फर्किएका छैनन् ।