काभ्रे आएर मन्त्री झाँक्रीले पनि सम्झिईन ‘७० करोड’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ कात्तिक ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले काभ्रे आएर गोकुल बाँस्कोटाको ७० करोड काण्ड सम्झिनु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले काभ्रे जिल्लामा ७० करोड काण्डले विकास निर्माण पछि परेको दाबी गर्नुभयो ।

‘७० करोड अगाडि र विकास चाहिँ पछि परेको छ । यो काभ्रेली जनता र सिंगो देशको लागि राम्रो कुरा होइन । अहिले पनि धेरै ठाउँमा तुलो भन्ने बित्तिकै केपी ओली र पैसाको कुरा आउँदा गोकुल बाँस्कोटाको नाम आउने गरेको छ । यस्तो पक्षबाट सजग हुनुपर्छ, मन्त्री झाँक्रीले भन्नुभयो ।

विकास निर्माणमा हुने असन्तुलनको चेन ब्रेक गर्न आवश्यक रहेको मन्त्री झाँक्रीले बताउनुभयो । ‘विकास केहि ब्यक्तिको हातमा मात्रै सीमित भयो । न्यायोचित वितरण हुनै सकेन् ।

आफ्नो मन्त्रीबाट हुने यस्ता गतिविधि रोक्छु । विभिन्न बहानामा योजनालाई अलपत्र पार्ने काम भैसकेको छ । हामीले विकास निर्माणमा हुने सबै प्रकारका चेनलाई तोड्न आवश्यक छ, मन्त्री झाँक्रीले भन्नुभयो ।