भौतिक पूर्वाधार मन्त्रीसहितका तीन जना मन्त्रीले राजीनामा दिँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ कात्तिक ।

तीन जना मन्त्रीले कात्तिक १३ गते राजीनामा दिने भएका छन् । कर्णाली प्रदेश सरकारका तत्कालिन नेकपा एमालेका सांसद रहेका तीन जनाले गएको वैशाख तीन गते कर्णालीका मुख्यमनत्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी कात्तिक १५ गते भन्दा अगावै राजीनामा दिने तयारी गरेका हुन् ।

‘हामी कात्तक १३ गते राजीनामा दिन्छौं,’ ४४ महिना मन्त्री भएका वुढाले नेपालप्रेससँग भने, ‘सायद १२ गते पनि राजीनामा दिन सकिन्छ । यसबारेमा एक दुइ दिनमा अन्य मन्त्रीसँग सल्लाह गर्ने तयारी गरेको छु ।’

तीन जनाले राजीनामाको तयारी गरेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ मन्त्रीको नाम चयन गर्ने अन्तिम तयारी गरेका छन् ।‘नयाँ अनुहारका कम्तिमा पाँच जना मन्त्री बन्नेछन् । विन्दमान विष्ट पहिलो रोजाईमा छन् ।’ मुख्यमन्त्री शाही स्रोत भन्छ, ‘उस्तै परे काँग्रेसका तीन, माओवादीका मुख्यमन्त्रीसहित तीन र समाजवादीका दुइ मन्त्री हुने सम्भावना छ ।’

यसबारेमा मुख्यमन्त्री शाहीसँग विहान कुरा गर्न खोज्दा प्रतिक्रिया दिन चाहेनन् । तिनै जना मन्त्री आगामी कात्तिक १४ गते राती १२ बजेपछि पदमुक्त बन्दैछन् । पदमुक्त हुनुभन्दा राजीनामाको बाटो सहज हुने भन्दै मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका हुन् ।