अचानक के भयो ? नेकपा एमालेका सचिव भट्टराई अस्पताल भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ कात्तिक ।

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उनी वीर अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।

सरकारले गति समात्न सकेन : गगन थापा

काठमाडौं, ५ कात्तिक/नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन् । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।’

नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याए । ‘एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिनसक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,’ उनले भने ।