निर्माण व्यवसाय मैत्री कानुन निर्माण हुन्छ : मन्त्री झाँक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ कात्तिक ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन गर्नुपर्ने बताएकी छिन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवद्र्घन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त्री झाँक्रीले गुणस्तरीय निर्माण कार्यमा जोड दिइन् ।

निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमा समस्या देखिएको उनले बताइन् । निर्माण व्यवसायीहरूले क्रमशः आफ्नो क्षमता बढाउँदै लगी विदेशी व्यवसायीहरूबाट सीप सिकेर आफ्नो स्तरोन्नति गर्नुपर्ने धारणा मन्त्री झाँक्रीले व्यक्त गरिन् ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका समस्या र समाधानका बारेमा लिखित सुझाव मन्त्री झाँक्री समक्ष पेश गरेको छ । । जसमा धरौटी रकम फिर्ता, बैंक क्रेडिट लाइनको खारेजी, बिमा शुल्क वृद्धि लगायतका विषय समेटिएको छ ।