प्रधानमन्त्री देउवा बझाङ पुगे, प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण हुन सकेन

हाम्रो सन्देश संवाददाता

कैलाली, ४ कात्तिक ।

सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा गएको बाढी, पहिरो तथा डुबानको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । उनी जिल्लाको अति प्रभावित क्षेत्र थलारा अवलोकनका लागि पुगे पनि हेलिकप्टर अवतरण हुन सकेन ।

हेलिकप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको व्यारेकामै अवतरण भएको छ । प्रधामन्त्री देउवा अहिले बझाङस्थित सेनाकै हलमा जिल्ला स्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जिल्लाको रिपोटिङ्ग लिइरहेका छन् ।

उनी यसअघि डोटीका जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहीबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।

वर्षासँगै बाढी पहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएका छन् ।