सुन प्रतितोला रु ३०० ले वृद्धि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ४ कात्तिक ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु

अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो ।

उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।