कलाकार चौधरी जीवन र मृत्युको दोसाधमाः सहयोगको याचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ कात्तिक ।

थारु र मैथली भाषाका चलचित्रमा नायकको भूमिका निर्वाह गरेका कलाकार नवीन चौधरी यतिबेला जीवन मृत्युको दोसाधमा छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ लक्षणपट्टीका ३२ वर्षीय चौधरी करिब डेढ वर्षयता विभिन्न रोगबाट थलिएर जीवन र मृत्युको दोसाधमा परेका हुन् । धरान, विराटनगरको विभिन्न अस्पताल हुँदै कलाकार चौधरीलाई थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

कहिले डेङ्गु, कहिले क्यान्सर, कहिले किड्नीको समस्या, सुगरलगायत विभिन्न रोगबाट ग्रसित चौधरी अहिले कानसमेत सुन्न नसक्ने अवस्थामा पुगेको परिवारजनले जनाएको छ । विगत डेढ वर्षदेखि थलिएको छोराको उपचारमा हालसम्म करिब रु ४५ लाख खर्च भइसकेको चौधरीकी आमा विशवरी कुमारी चौधरीले बताउनुभयो ।

सिरहाको लहानस्थित समाद एफएमबाट आफ्नो साङ्गीतिक क्यारियरको सुरुआत गर्नुभएको कलाकार चौधरीको सयौं भ्याल जमैया, दिलके टुक्रा, नथिया टुटल सैया खटिया पर, स्पृङ्ग सेट छौँलगायत गीत र फिल्ममा मुख्य पात्र (नायक) को रुपमा अभिनय गर्नुभएको छ । छोरोको उपचार गर्दागर्दौ परिवारिक आर्थिक अवस्था कमजोर भइसकेकाले सहयोगका लागि सम्पूर्ण कलाकार, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी, सङ्घ संस्था, देश, विदेशका प्रवासी कमदारलगायतसँग कलाकार चौधरीकी आमाले अपिल गर्नुभएको छ ।

आमा विशवरीकुमारी चौधरीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाको खाता नं –२१८०१०००३२५३७०१० मा आर्थिक सहयोग गरीदिनहुन चौधरीको परिवारले सबैमा आग्रह गरेको छ ।