पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको दाहसंस्कार

हाम्रो सन्देश संवाददाता

हुम्ला, ३ कात्तिक ।

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दाहसंस्कार गरिएको छ । अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको पहिरो परेर एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको पहिरोले धाविरे शाही घर पुरिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रदेश १ मा बाढीपहिरोको कहर : ३८ जनाको मृत्यु, १६ जना बेपत्ता

तीन दिनदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले प्रदेश १ मा ३८ जनाको ज्यान लिएको छ ।

तीन दिनयता परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ३८ जनाको मृत्यु, १६ जना बेपत्ता र १६ जना नै घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले विराटनगरले जानकारी दिएको छ ।

कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा १३ जनाको मृत्यु भएको छ । पाँचथरमा ११ जना, धनकुटामा सातजना र सुनसरीमा चारजनाको मृत्यु भएको छ ।

उदयपुर, मोरङ र भोजपुरमा एक एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बेपत्ता भएकोहरूको खोजीकार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय जानकारी दिएको छ ।