महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धारको तयारी

हाम्रो सन्देश संवाददाता

धनगढी, २ कार्तिक ।

वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बिचमा बनेको टापुमा पाँच जना फसेका छन् ।

कैलालीको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेका हुन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शिद्धराज न्यौपानेले बताए ।

अबिरल वर्षापछि पानीको सतह बढ्दा टापु घेरिएर पाँचजना फसेको प्रहरीले जनाएको छ । उनहरूको हेलिकोप्टरमार्फत उद्धार गर्न नेपाली सेनासँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ ।

बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।

कर्णाली राजमार्ग अबरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो ।