बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा आजदेखि बढ्‍यो, अब कति तिर्नुपर्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कात्तिक ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक सवारीसाधानको भाडा बृद्धि भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको मिति २०७८ असोज २० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार कार्तिक १ गते अर्थात सोमबारदेखि बागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवहाक सवारी साधानहरुको भाडादर बृद्धि भएको हो ।

नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्न साथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ भने किलोमिटर अनुसार भाडा बृद्धि गरिएको छ । बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्युनतम भाडा १८ तिर्नुपर्नेछ भने १० किलोमिटरसम्मकाे यात्रामा २३ रुपैयाँ लाग्नेछ । यसैगरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ । तर यसमा विद्यार्थी, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि भएको छैन् । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ माग छ ।