अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कार्तिक ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

माओवादी स्थायी समिति बैठकमा पार्टी सुदृढीकरण विषयमा छलफल

नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

“पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ”, उहाँले भन्नुभयो । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।

पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उहाँले बताउनुभयो । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उहाँले प्रष्ट पार्नुभयो । “बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो”, उहाँले भन्नुभयो ।