बस पल्टिँदा ४२ घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कार्तिक ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । आज बिहान १०.३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा घाइते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो ।

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवीका साथै उनका दुई छोराहरू सिकिन्दर र अनिल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताउनुभयो ।

गत बुधबार बिहान स्थानीयवासी शम्भु महतोकी पत्नी सुकमरिया देवी टोलमा घुमिरहेको अवस्थामा सिकिन्दरको घर अगाडि पुग्दा निजकी छोरी १३ वर्षीया काजल उनलाई देखेर रुन थालेपछि चारै जनाले उक्त महिलाले नै जादु र टुनामुना लगाएको भन्दै समातेर मलमुत्र खुवाउनाका साथै अपमानजनक व्यवहार गरेका थिए ।

उनीहरुले सुकमरियालाई घर अगाडिको बिजुलीको पोलमा बाँधेर कपाल काटिदिएको, शरीरको कपडा फुकालेर नाङ्गो बनाइदिएको, टाउको र अनुहारमा कालो र सेतो टीका लगाइदिएको र अन्त्यमा मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । बडादसैँ चलिरहेकै बेला गत बुधबाउनीहरुलाई पक्राउ गर्नाका साथै घटनास्थलबाट सुकमरियालाई बाँध्न प्रयोग गरेको नाइलनको डोरी, काटेका कपालका टुक्रा र मलमूत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास तथा बियरको बोतलसमेत बरामद गरिएको थियो । प्रहरीले चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ ।