स्थानीय तहमा एमालेको नयाँ कमिटी, यस्तो छ पदाधिकारी संरचना…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कार्तिक ।

नेकपा एमालेको स्थानीय तहको अधिवेशन कात्तिक ६ गतेबाट देशभरका सबै वडामा एकैसाथ हुने भएको छ । एमालेको वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या पनि आइतबार टुंगो लागेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार भएको छलफलमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरुले विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाएका छन् भने पदाधिकारीको संख्याको पनि टुंगो लगाइएको हो ।

एमालेमा वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपपसचिवको संरचना रहने केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाले बताए ।

यस्तो छ एमालेको स्थानीय तहमा पदाधिकारी संरचनाः

वडा पालिका पदाधिकारी अध्यक्ष–१ उपाध्यक्ष– १ सचिव– १उपसचिव– २

वडा सदस्य गाउँ नगरपालिका– ३१ उपमहानगरपालिका– ४१ महानगरपालिका– ५१ पालिका तहमा रहने सदस्य गाउँ नगरपालिका– ७५ उपमहानगरपालिका– ८५ महानगरपालिका– १०१

एमाले केन्द्रीय कार्यालयले जनाए अनुसार कात्तिक ६ गते देशभरका सबै वडामा एकै दिन अधिवेशन गर्ने तयारी रहेको छ। उक्त अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको पनि केन्द्रीय कार्यालयले जनाएको छ।

एक पटकमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरी तयारी गरिएको बताइएको छ।

एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ।