माधव नेपालका भाइलाई केन्द्रीय सदस्य दिएपछि नेकपा (एस)मा असन्तुष्टि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ कात्तिक ।

नेकपा (एकीकृत समाजवादी ) को केन्द्रीय सदस्यमा सरोज कुमार उपाध्याय चयन भएका छन् । पार्टीमा केन्द्रीय सदस्य छनोट गर्न बनाएको मापदण्ड लागु नभएको भन्दै असन्तुष्टी बढिरहेका बेला अध्यक्ष माधव कुमार नेपालका कान्छा भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

उनलाई पछिल्लो कार्य विभाजनमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी केन्द्रीय कमिटीको ३ सय २३ औं नम्बरमा समेटिएका छन् । त्यसैगरी नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।

यता केन्द्रीय कमिटी सदस्य छनोट र कार्यविभाजनको लागि तय गरिएको मापदण्ड व्यक्ति वेशेषमा लागु गरिएको भन्दै नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाएका छन् ।

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन ।

इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।