गोरखा केन्द्रविन्दु भएर भूकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,३१ असोज ।

आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

बिहान ४ः०९ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रको भनाइ छ । आरुघाट गाउँपालिका वडा नं. १ मान्वू केन्द्रविन्दु बनाएर भूकम्प गएको बताइन्छ ।

आरुघाट गाउँपालिकाका स्थानीय मीना श्रेष्ठका अनुसार भूकम्प गएपछि स्थानीयहरु घरबाहिर निस्किएका थिए । भारी वर्षासंगै भूकम्प गएको श्रेष्ठले बताइन् । भूकम्पको धक्का धादिङदेखि काठमाडौंसम्म परेको बताइन्छ ।

यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

३१ वर्षीया महिला ९ वर्षीय छोरासहित बेपत्ता

रुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन् । २२ असोजदेखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका-५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए् ।

“सानीआमाको घरबाट केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्’, उनले भने । आफन्तहरू सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दे बताए ।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएदेखि मोबाइल पनि स्वीच अफ गरेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे ।

आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिनाअगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता विगत सात/आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् ।