भरतमणि र गाेकुल बास्काेटाकाे भयो भेट, भए यस्ता कुराकानी !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कमेडी च्याम्पियनमा भरतमणि पौडेलले गरेको पूर्वमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर अत्यधिक चर्चित भयो । बास्कोटा स्वयम्ले भरतमणिको क्यारिकेचर मन पराएर उनलाई फोन गरेका थिए । आज भने उनीहरुको पहिलोपटक प्रत्यक्ष भेट भएको छ ।भरतमणिले भक्तपुरस्थित बास्कोटाको निवासमै पुगेर बास्कोटालाई भेटेका हुन् । आफैंले फोन गरेर समय मागेर भेटेको भरतमणिले बताए ।

‘उहाँको धेरै क्यारिकेचर गरेँ, त्यसैले मलाई उहाँसँग भेट्न मन लागिरहेको थियो,’ भरतमणिले भने, ‘सहजै समय दिनुभयो र घरमै पुगेर भेटेको हुँ ।’ भेटका क्रममा बास्कोटाले भरतमणिको क्यारिकेचरलाई लिएर आफ्नै शैलीमा टिप्पणी गरेका थिए ।

‘मलाई राष्ट्रियरूपमा उडाउनी रु’ बास्कोटाले भने । भरतमणिले जवाफ दिए, ‘जोकमा अलिअलि नउडाइ हुन्न हजुर । नत्र मान्छे हाँस्दैनन् ।’ बास्कोटाले फिस्स हाँस्दै भने, ‘केको अलिअलि हुन्थ्यो, धेरैले उडाउनुभो ।’ भरतमणिले आग्रह गरे, ‘जे होस् नेगेटिभ नलिइदिनुहोला ।’

बास्कोटाले भने, ‘नेगेटिभरुपमा लिएर गर्नु के र ?’ भरतमणिले जिज्ञासा राखे, ‘समग्रमा मेरो कमेडी हजुरलाई कस्तो लाग्छ ?’
गोकुलले जवाफ दिए, ‘झटारो त राम्रैसँग हान्नुहुन्छ नि ।’ बास्कोटाले नै आफूमाथि लागेको आरोपको प्रसंग पनि निकालेका थिए ।

‘मलाई ७० करोड खायो भन्छन्, यी घर त यति साँघुरो छ देखिहाल्नुभो,’ उनले भने । ‘आरोप त लगाइरहेका छन्, अब के हुन्छ हजुर ?’ भरतमणिले जिज्ञासा राखे ।

‘भ्रष्टाचार गरेको भए छानविन होस् भनेर मैले सँधै भनिरहेकै छु नि,’ बास्कोटाले जवाफ दिए । बास्कोटाको घरमा करिब १५ मिनेट बिताएका भरतमणि कालो चिया पिएर निस्किए । जाने बेलामा उनले भने, ‘हामी कमेडीयनले उडाउने मसला नपाउने गरी काम गर्नुपर्‍यो है हजुर ।