विमानस्थलको पार्किङबाट ११ लाखको सुनको बाला सहित युवक पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

विदेशबाट फर्किने युवकहरुमार्फत संकलन गरिएको अवैध सुन बोकेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुनको ३ थान बाला सहित धादिङ निलकण्ठ नगरपालिका–४ वतन भएका ५७ वर्षीय खड्क प्रसाद तिमल्सिनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरिएको हो ।

उनलाई उक्त बाला सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

दशैँ सुरु भएसँगै लमजुङका बजारमा चहलपहल बढ्यो

दशैँ आएसँगै लमजुङका सहरबजारमा चहलपहल बढेको छ । दशैँ सुरु भएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्र बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटारलगायत क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको हो ।

कोरोना संक्रमण दर केही कम भएकाले टाढाटाढाका नागरिक पनि बजारसम्म आएर किनमेलमा व्यस्त भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । दशैँ तिहारलाई लक्षित गरी व्यवसायीले विशेष छुटको व्यवस्था गरेकाले पनि अधिकांश पसलमा नागरिकको भीड हुने गरेको छ ।

दशैँ सुरु हुनुभन्दा एक महिना अघि नै बजारका पसलमा मानिसको भिड लागेको थियो । अहिले झनै भिडभाड बढेको छ ।

कोरोना संक्रमणका कारण सुस्ताएको व्यवसाय दशैँ आएपछि बढेको बेशिसहरका फेन्सी व्यवसायी सरिता सापकोटाले बताइन। दशैँमा चहलपहल बढ्दा व्यवसायी खुसी भएका छन् ।

लामो समयसम्म व्यवसाय अघि बढाउन समस्या भएकाहरूलाई गाउँगाउँबाट झर्ने मानिसको भीडले थप उत्साह थपेको छ ।