ओलीलाई राजनीतिबाटै मिल्काईदिने प्रचण्डको चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् ।

आफ्नो पार्टी र आफूसँग धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न शनिवार त्यहाँ पुगेका प्रचण्डले भने, ‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २–४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेशी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताए । उनले भने, ‘मधेशी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईंहरूकै अधिकारका लागि लडिरहेको छु ।