देउवा सरकारमा मन्त्री नपाएको झोकमा सुजाता कोइराला रन्थनिदैं देउवा गुटमा पसेपछि…

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

नेपाली काँग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह छोडेकी छन् । मन्त्री नपाएको झोकमा उनले देउवा गुट रोजेको चर्चा छ ।

पौडेलको कार्यशैली पार्टी, देश र जनताको हितविपरित भएको सुजाताले पौडेल क्याम्प छोडेकी हुन् । पौडेल समूहमा कांग्रेसलाई हाँक्ने क्षमता नभएको र पौडेल सभापति बन्न योग्य नरहेको उनको भनाइ थियो । सुजाताले महामन्त्री एवं आफ्ना भाइ शशांक कोइरालाप्रति पनि असन्तुष्ट जनाइन् ।

महामन्त्री भएर पनि कुनै क्षमता देखाउन नसकेको र सभापति बन्छु भन्दा दुनियाँ हाँसेको उनको भनाइ थियो । सुजाताले शशांकको आलोचना गरे पनि सभापति शेरबहादुर देउवालाई शशांकको बलियो साथ समर्थन रहँदै आएको छ ।

सुजाता बाहिरिएसँगै पौडेल समूह थप कमजोर बनेको छ । त्यसमाथि देउवाले शशांकलाई च्यापेपछि पौडेल रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् ।