कानुनी छिद्रबाट गरिएको निर्णयले अनन्तकालसम्म लखेट्छ : गगन थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

नेपाली कांग्रेसका नेता गगन थापाले लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्रै नपुग्ने बताएका छन् । उनले निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्रै शासकको निर्णयले वैधता पाउने पनि बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएको सन्दर्भमा चर्को आलोचना भइरहेका बेला गगनको यो भनाइ आएको हो । नेपालमा गैरसांसदले पनि ६ महिनासम्म मन्त्री हुन पाउँछन् । तर ६ महिना पूरा भएपछि जनअनुमोदित हुने या पद छाड्नुपर्ने बाध्यता छ ।

यही सन्दर्भमा उनले उनले शासकले कानुनका छिद्रबाट छिराएको निर्णयले अनन्तकालसम्म लखेट्ने नेता थापाले बताएका हुन् । ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्रै पुग्दैन,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्रै त्यसले वैधता पाउँछ । नत्र कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’