सरकारी कम्पनीले दशैंका लागि ल्याएको खसीबोकाको बिक्री सुरु, यस्तो छ मुल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असोज ।

सरकारी कम्पनीले दशैंका लागि ल्याएको खसीबोका बिक्री सुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि शनिवार देखि खसीबोका बिक्री सुरु गरेको हो।

खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिएका छन् । उनका अनुसार अहिले बिहानसम्म मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका ल्याइएको छ ।

जसमध्ये २ सय १ मकवानपुरबाट र बाँकी दाङबाट ल्याइएको हो । अरु खसीबोका पनि बिस्तारै ल्याउने उनले जानकारी दिएका छन् । यो वर्षको दशैँमा खाद्यले दाङबाट ८ सय र मकवानपुरबाट एक हजार दुई सय खसीबोका ल्याउने खनालले बताए । खाद्यले प्रतिकिलो ५ सय ४५ देखि पाँच सय ६५ रुपैयाँमा खसीबोका खरिद गरेको छ ।

खाद्यले बेच्ने मूल्य भने प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । गएको वर्ष खाद्यले ५ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । पोहोरको तुलनामा यसपालि उपभोक्तालाई ९० रुपैयाँ महँगो पर्ने भएको छ ।