अमेरिकाको यस्तो सर्तपछि एमसीसी पास गर्न प्रचण्ड तयार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ असोज ।

नेपालमा एमसीसी परियोजनाको सन्दर्भमा भएको ‘प्रगति’बारे जानकारी लिने तथा त्यसलाई संसदबाट पास गराउन सरकार एवम् प्रमुख राजनीतिक दलका नेताहरूलाई झक्झक्याउने उद्देश्यका साथ गत साता नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमार बिनाउत्साह वासिङ्टन फर्किएकी छन्, यद्यपि उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुदानसम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुने विश्वास दिलाएका छन् ।

केपी ओली नेतृत्वको सरकार विस्थापित भएर देउवा नेतृत्वको सरकार उत्पत्ति गराइँदा यस सरकारको उच्च प्राथमिकतामा एमसीसी अनुमोदन पर्ने आमबुझाइ थियो । केपीलाई हट्न सघाएर आफैं प्रधानमन्त्री बन्न प्रचण्डले पटक–पटक आग्रह गर्दा देउवाले ‘एमसिसी के गर्ने’ भन्ने ‘एस्योरेन्स’ खोज्थे र, प्रचण्डले ‘तपाईं प्रधानमन्त्री बनेपछि एमसीसी अनुमोदन जसरी पनि गरिन्छ’ भनेर देउवालाई आश्वस्त पार्दै आएका थिए ।

तर अहिले माओवादी र माधव समूह दुवैले एमसीसी अनुमोदन गर्न आलटाल र असहयोग गर्ने सङ्केतहरू देखिएका छन् ।फतिमा नेपालमा रहँदा प्रमुख राजनीतिक दलका सबै शीर्ष नेताहरूलाई भेटेर उनीहरूको धारणा बुझेकी थिइन् । सो क्रममा प्रचण्डसँगको भेटवार्तामा एमसीसी अनुमोदन गर्न प्रचण्डद्वारा प्रस्तुत गरिएको शर्त सुनेर उनी स्तब्ध बनेकी बुझिएको छ ।

प्राप्त जानकारीअनुसार प्रचण्डले आफूमाथि अमेरिकाले लगाएको आतङ्ककारीको बिल्ला पूर्णरूपले खारेज गरिदिनुपर्ने शर्त राखेका थिए । साथै, दुबई र सिंगापुरस्थित बैंकहरूमा रहेको खातामाथि एफबीआई ९फेडरल ब्युरो अफ इन्भेष्टिकेसन, अमेरिका०ले लगाएको प्रतिबन्ध (रेड फ्ल्याग) खुला गर्नुपर्ने शर्तसमेत प्रचण्डले तेर्स्याएका थिए ।