अनामनगरबाट सर्दै मण्डला नाटक घर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ असोज ।

सन् २००८ मा स्थापना भएको मण्डला नाटक घर अनामनगरबाट सर्ने भएको छ । मण्डला थियटर नेपाल संस्था स्थापना गरेर सञ्चालन भइरहेको नाटक घर अनामनगरबाट थापागाउँ सर्ने तयारी गरेको हो । अनामनगरमा थियटरको क्रियाकलापका लागि ठाउँ अपुग भएनाले नयाँ स्थान र भवनमा सार्न लगिएको संस्थाका सचिव विजय बरालले बताए ।

‘हामीलाई प्राक्टिस, रिहर्सलसहित विभिन्न गतिविधिका लागि ठाउँ अपुग भएको हो,’ उनले भने ,’यसका साथै पार्किङको पनि यहाँ सुविधा छैन ।’

मण्डलाको नयाँ भवनमा ठूलो र सानो गरी दुई थिएटर रहनेछन् । ठूलाेमा एक सय ७८ सिट र सानोमा ६० सिट रहने उनले बताए ।

बरालले नयाँ भवनमा पुसबाट नाटक मञ्चन गर्ने तयारी रहेको बताए । ‘हामीले नयाँ भवनको काम गरिरहेका छौँ, छिटोमा मंसिरमा सर्छौँ,’ उनले भने । मण्डला थियटर नेपालमा १३ जना सदस्य छन् । नयाँ भवनमा पार्किङ, कफी सपलगायत रहनेछन् । जसले नाटक हेर्न आउने दर्शकलाई थप सुविधा मिल्ने विश्वास थियटरको छ ।