अवैध कामदारलाई आममाफी दिने कतार सरकारको घोषणा

हाम्रो सन्देश संवाददाता

दोहा , २१ असोज ।

कतार सरकारले अवैध कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।

आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका लगायतका गैरकानुनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको आममाफी दिन लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।

सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकेको छ ।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर नाम दर्ता गराउनु पर्नेछ ।

२०१५ को कानून नं ​​२१ को प्रावधान अनुसार आप्रवासीको निवास तथा प्रवेश र गमन को नियम अन्तर्गत प्रक्रिया सुरु गरिएको आन्तरिक मन्त्रालयले बताएको छ ।