४६ जना यात्रु बोकेर काठमाडाैंबाट उडेकाे जहाज अन्तै पुग्याे, केछ अवस्था ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० असोज ।

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन । त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् । केहि दिनअघि काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको थियो।

विराटनगर विमास्थलमा अवतरण गर्न खोज्दा जहाजका पाङग्रा नखुेलेपछि पाइलटले काठमाडौं नै फर्काएर अवतरण गराएका थिए। काठमाडौंको आकाशमा आधा घण्टा बढी फन्को मारेको सो जहाज प्रकरणले देशलाई नै झस्काएको थियो।

जहाजलाई दुर्घटनाबाट जोगाएको भन्दै धेरैले पाइलट एजी शेर्पाको गुणगान गाए। उक्त प्रकरणबारे अनुसन्धान गर्न गठित बुद्ध एअरको समितिले पाइलट शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी औंल्याएको छ।

बुद्ध एयरका अर्का क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित छानबिन समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।

ठुलो दुर्घटना हुनबाट बचेको बुद्ध एयरको विमानमा के पूर्वराजा-रानी सवार थिए ?
गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।

जहाजको सुरक्षित अवतरणसँगै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह उक्त जहाजमा सवार भएकाले ठूलो दुर्घटना नभएको दाबी गर्दै बुद्ध एयरका पाइलट आङ गेलु शेर्पा, विमानस्थल कर्मचारीहरुसँग पूर्व राजारानीको सामूहिक तस्विर सेयर गरिएको छ।

फेसबुकमा करिब ६० हजार सदस्य रहेको ‘राजा ज्ञानेन्द्र King Gyanendra (राष्ट्रभक्त राजा)’ नामक फेसबुक पेजमा विशाल राजभण्डारीले उक्त दाबीका साथ फोटो पोष्ट गरेका छन्। उनले लेखेका छन्, ‘जहाँ राजरानी हुन्छ त्यहाँ भगवानको बास हुन्छ भन्ने सही साबित भयो। आजको बुद्ध एयरमा राजारानी पनि सवार भएर भगवान श्री पशुपति नाथको कृपाले दुर्घटना हुनुबाट जोगियो।’

उक्त पोष्टमा ३००० भन्दा धेरै प्रतिक्रिया आएका छन् भने ४७७ पटक सेयर भएको छ । यस्तै दाबीका साथ अन्य प्रयोगकर्ताले पनि फेसबुक पेजहरुमा सो सामग्री सेयर गरेका छन्। सोही दाबीका साथ फेसबुक प्रयोगकर्ता सन्तोष लिम्बु र आर्यन अलीले पनि उक्त फोटो पोष्ट गरेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्तै दाबीसहित बनाइएका भिडियो सेयर भएका छन्। @astro_neeraj15 नामक टिकटक एकाउन्टबाट ‘जहाँ राजा रानी, त्यहाँ पशुपतिको कृपा । फ्लाइटमा राजारानी पनि होइसिन्थ्यो’ भन्ने दाबी गरिएको छ। उक्त भिडियोमा झण्डै २२ हजार प्रतिक्रिया आएका छन् भने ५८ पटक सेयर भएको छ ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @dahaltharka ले पनि पूर्वराजारानी उक्त जहाजमा भएको कारणले बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बचेको दाबी गरेका छन्। उक्त टिकटक भिडियोमा १ लाख १७ हजार प्रतिक्रिया आएको छ भने ८०५ पटक सेयर भएको छ।