मलेसियामा नेपाली श्रमिकको उद्दार गर्नको निम्ति सेल्टर हाउस स्थापना गर्ने !

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया):=

गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको साझा समस्या समाधान गर्नको लागी नेपाल सरकारको ध्यानआकर्षण गराउनु भएको छ।

एनआरएनए मलेसियाको अध्यक्ष विनोद थापाले आज बुधबार नेपाल सरकारको प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्कासंग प्रत्येक्ष भेटघाट गरि मलेसियामा कार्यरत रहनुभएका नेपाली श्रमिकको समस्याहरु र समाधान गर्नेबारे ध्यानाकर्षण गराउनु भएको हो।

अध्यक्ष थापाले प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष मलेसियामा कार्यरत नेपाली श्रमिकहरु कुनै किसिमको अप्ठ्यारामा परेको खण्डमा उद्दार गरेर सुरक्षित र सहज तरिकाले बसाल्न,राख्न सजिलो होस् र नेपाल फर्काउन पनि सजिलो होस् भन्ने हेतूले नेपाल सरकार र एनआरएनए मलेसियाको समन्वयमा मलेसियामै नेपाली श्रमिकमैत्री आफ्नै सेल्टर हाउस स्थापना गर्न अत्यन्त जरुरी रहेको बारे ध्यानाकर्षण गराउनुभएको हो।

“तत्काललाई मलेसियामा सेल्टर हाउसको स्थापना सरकार र कुटनैतिक निकायको सहकार्यमा एनआरएनए मलेसियालेनै गर्ने, सम्पुर्ण लागत खर्च पनि एनआरएनए मलेसियालेनै ब्यवहोर्ने र संचालन पनि गर्ने तर भविष्यमा एनआरएनएले नसकेको खण्डमा नेपाल सरकारले आफ्नै मातहतमा लिई संचालन गर्न पाउने कुरा प्रधानमन्त्री र परराष्ट्रमन्त्री ज्यू संग भएको अध्यक्ष थापाले बताउनुभयो।”

साथै पछिल्लो समयमा नेपाल सरकारले जारी गरेको अनलाइन प्रविधीबाटै पुनः श्रम स्विकृति लिन मिल्ने र शुल्क बुझाउनुपर्ने ब्यवस्था र सिस्टम अलिक जटिल रहेको पाईएको साथै मलेसियामा कार्यरत नेपालीहरुलाई असजिलो भएको हुँदा आगामी दिनमा मलेसिया स्थित दूतावाससंगकै समन्वय र सहकार्यमा सहज तरिकाले मलेसियामानै पुनः श्रम स्विकृति लिन मिल्ने र शुल्क बुझाउन मिल्ने ब्यवस्था मिलाईदिनुहुन समेत अध्यक्ष थापाले प्रधानमन्त्री र परराष्ट्रमन्त्री समक्ष अनुरोध गर्दै ध्यानाकर्षण गराउनुभयो।

जानकारी अनुसार जवाफमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.खड्काले मलेसियामा कार्यरत नेपाली श्रमिकको हितको निम्ति सेल्टर हाउस स्थापना गर्न नेपाल सरकारले सक्दो सघाउ पुर्याउने, साथै श्रमिकको समस्या समाधान र उद्दार गर्नलाई पनि सरकार हरदम तत्पर रहने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो।

प्रधानमन्त्री देउवाले सरकारले चाडैंनै रिक्त रहेको श्रममन्त्रीको पदमा मन्त्री नियुक्त गरेर साथै मलेसियाको लागी नयाँ नेपाली राजदुत नियुक्ति गरेर परराष्ट्र मन्त्रालयको संयुक्त सहकार्यमा सेल्टर हाउस स्थापनाको साथै समस्यामा परेका नेपाली श्रमिक उद्दारको कामकाज , प्रक्रिया अगाडि बढाउने र कामलाई पूरा गर्ने पुर्ण प्रतिबद्धता जाहेर गर्नुभएको कुरा अध्यक्ष थापाले मलाया खबरलाई बताउनुभएको छ।

अध्यक्ष थापाका अनुसार हाल आफू नेपाल फर्केको यस् अवसरमा सेल्टर हाउस स्थापनाको लागी एनआरएनए केन्द्र र नेपाल सरकारको नयाँ श्रममन्त्री नियुक्त भैइसके पश्चात् आफू ले प्रत्येक्ष भेटघाट गरेर लिखित रुपमै पत्र बुझाएर स्विकृती लिएर सम्पुर्ण प्रक्रिया पूरा गराएर बल्ल आफू मलेसिया फर्कने बताउनुभयो।