चाक्सीबारीका रहस्यमय दुई भेट, कांग्रेसमा भुकम्प ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २० असोज ।

चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आज महत्वपूर्ण दुई भेट भएका छन्। पहिलो भेट नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव प्रकाशमान सिंहबीच भएको छ। नेकपा महासचिव विप्लव आफ्नो पार्टीले अघि सारेको जनमत संग्रहको मुद्धालाई लिएर भेटघाट भएको हो।

भेटमा विप्लवले राजनीतिक निकासका लागि जनमत संग्रहको मुद्धालाई नेपाली कांग्रेसभित्र पनि उठाउन आग्रह गरेका थिए। त्यस्तै, दोश्रो भेट नेपाली कांग्रेसका नेता गगन थापासँग भएको छ। कांग्रेसभित्रको ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएर चाक्सीबारी गएका हुन्।

पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन्। यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए।

काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह–थापा गठबन्धनका उम्मेदवारले जितेका छन्। संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ। औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष नगरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन्।

यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन्।काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले भने।

१३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् ।सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।

यसैगरि , लगभग देश चुनावमय भएको छ। विभिन्न पार्टी परित्याग गरी एउटा पार्टीमा प्रबेश गर्ने क्रम बढेपछि चुनाव लागेको संकेत भएको हो।पछिल्लो समय दार्चुलामा नेपाली काङग्रेसबाट निर्वाचित एक जना वडाध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानिय तहको निर्वाचनमा ब्यास गाउँपालिका वडा नं ५ मा नेपाली काङग्रेसबाट चुनाव जितेका वडाध्यक्ष मंगल सिह धामीले नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले ब्यासका सचिव नारद दत्त भट्टले जानकारी दिए।

वडाध्यक्ष मंगल सिह धामी नेकपा एमालेको विधान महाधिबेशनमा ब्यास गाउँपालिका वडा नं ३ सीनाका वडाध्यक्ष उपेन्द्र सिह धामी लगायतसँग काठमाण्डौ पुगेका थिए। काठमाण्डौँमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले वडाअध्यक्ष धामीलाई एमालेमा स्वागत गरेको वडाध्यक्ष धामीले बताए।

वडाध्यक्ष धामीले महाधिबेशन स्थलमै एमालेमा प्रबेश गरेको वडाध्यक्ष उपेन्द्र सिह धामीले जानकारी दिए। वितगमा शिक्षकसँगै कम्युनिष्ट राजनीतिमा रहेका मंगल सिह धामी स्थानिय निर्वाचनमा काङग्रेसबाट चुनाव लडेका थिए। हालै सम्पन्न काङग्रेस ब्यासको पालिका महाधिबेशनमा धामीले सभापतिको उम्मेद्धवारी समेत दिएका थिए।

यसैगरि, मन्त्रीपरिषद् विस्तार हुनभन्दा अघि नेपाली कांग्रेस नेताहरु भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी बिजेपीको निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहीबार भारत भ्रमणमा जाने भएको हो। पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन्।

नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए। गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए। उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन्।मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले बतायो। भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ।

यो पनि, सांसदले दसैं भत्ता नपाउने : संघीय संसद्का सांसदले दसैं भत्ता नपाइने भएका छन् । दशैं भत्ता दिन कानुनी आधारण नभएको भन्दै सांसदलाई भत्ता नदिइने भएको हो ।यही विषयमा बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।

केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने÷नदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ। सत्तापक्षका केही सांसद सोमबार भत्ताबारे बुझ्न सचिवालयको लेखा शाखाका कर्मचारीलाई सोध्न गएका थिए। संसद्का कर्मचारीले भने भत्ता दिने कानुनी आधार नभएको भन्दै फर्काउने गरेका छन् । सरकारबाट निर्णय गराएर भए पनि दसैं खर्च लिन केही सांसद लागिपरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए ।

अर्थ मन्त्रालयले सांसदलाई दसैं खर्च दिन बजेट पठाएको छैन, भत्ता दिने हो भने मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ भन्दा सत्तापक्षका केही सांसदले निर्णय गराएर ल्याउँछौं भन्नुभएको छ,’ सचिवालयका ती कर्मचारीले भने । कोरोना महामारीमा स्वास्थ्य सामग्री नभएर सर्वसाधारणले ज्यान गुमाएको अवस्थामा जनप्रतिनिधिलाई कर्मचारीसरह भत्ता उपलब्ध गराएको भन्दै गत वर्ष आलोचना भएको थियो । सांसदहरुले आफूलाई थाहै नदिई संसद्का कर्मचारीले खातामा भत्ता पठाएको भन्दै सामाजिक सञ्जालमा वक्तव्य निकालेर भत्ता फिर्ताको घोषणा गरेका थिए ।

गत वर्ष दसैं खर्च बैंक खातामा आएपछि केही पार्टीका संसदीय दलले निर्णय गरेर चाडपर्वबापत पाएको रकम फिर्ता गर्न सांसदलाई निर्देशनसमेत दिएका थिए । केही सांसदले राज्यकोषमा फिर्ता गरेको जनाएका थिए भने केहीले कोरोना अस्पताल र स्वास्थ्य सामग्रीमा खर्च गरेको जानकारी संसद् सचिवालयमा दिएका थिए । सांसदका स्वकीय सचिवले भने बैंकमा आएको रकम फिर्ता गरेनन् । अर्थ मन्त्रालयले सांसदलाई दसैं भत्ता दिने सम्भावना नभएको बताएको छ । ‘यो अवस्थामा सांसदलाई दसंै खर्च दिने सम्भावना छैन,’ अर्थ मन्त्रालय स्रोतले भने, ‘कोरोनाकाल अझै सकिएको छैन।

संसद्का पदाधिकारी र सदस्यले संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार मात्रै सेवा–सुविधा पाउँछन् । तर, मन्त्रिपरिषद्को ०७६ भदौ ३१ को बैठकले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, संघीय संसद्का पदाधिकारी तथा सदस्य र तिनका स्वकीय सचिवालयका कर्मचारीलाई एक महिनाको तलब बराबरको चाडपर्व खर्च दिने निर्णय गरेको थियो।

यही निर्णयमा टेकेर सचिवालयले ०७६ र ०७७ मा दसैं खर्च उपलब्ध गराएको थियो। पोहोर दसैं भत्ता दिँदा विवाद भयो, सबै माननीयले फिर्ता गर्नुभयो, यसपालि त चाडपर्व खर्च दिने कानुनी आधार र बजेट पनि नै छैन,’ संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर बजेट पठाएमा मात्रै हामी दिन सक्छौं।

दसैं खर्च नआउने संकेत पाएपछि सांसदहरु असोजको तलबबारे पनि जिज्ञासा राख्न थालेका छन्। मन्त्रिपरिषद् निर्णय नभएकै कारण सचिवालयले असोजको तलब पठाउन ढिलाइ गरेको छ । महिनाको अन्त्य नभई पूरै महिनाको तलब भुक्तानी दिँदा बेरुजुमा रहने भएपछि सचिवालयले असोजको तलब बैंकमा पठाउन मन्त्रिपरिषद्को निर्णय कुरेको हो ।

संघीय संसद्का ३ सय ३४ जनामध्ये निलम्बनमा परेका र मन्त्री भएकाबाहेक करिब ३ सय २० जनाले संसद् सचिवालयबाट मासिक तलब बुझ्छन् । एक जना सांसदले कम्तीमा ६६ हजार ७० रुपैयाँ तलबबापत पाउँछन् । सभामुख, अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता, राष्ट्रिय सभाको उपाध्यक्ष, विपक्षी दलको नेता, सत्तापक्षको नेता र मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सभापतिहरुसहित २४ जना पदाधिकारीको तलब सांसदले ६६ हजारभन्दा बढी पाउँछन् । तलबबाहेक विशेष भत्ता, टेलिफोन, इन्टरनेट, पत्रिका, बिजुली, धाराको महसुलसमेत उपलब्ध गराइन्छ।

काठमाडौं उपत्यकामा घर नहुने सांसदले मासिक १८ हजार घर भाडा पनि पाउँछन् । पदाधिकारीले निजी सचिवालय बन्दोबस्त खर्च २ हजार रुपैयाँसम्म पाउँछन् । यस्तै गार्ड घर, सवारी इन्धन, मोबिल खर्च पनि पाउँछन् ।सांसद् र पदाधिकारीका एक जना स्वकीय सचिवले कम्तीमा ३७ हजार ९ सय ९० रुपैयाँ बुझ्छन् । सांसद, पदाधिकारी र उनीहरुका स्वकीय सचिवको दसैं खर्च रोकिँदा राज्यलाई कम्तीमा ३ करोड ७५ लाख रुपैयाँ फाइदा हुन्छ।