बुद्ध एयरकाे जहाज सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट

हाम्रो सन्देश संवाददाता

सुर्खेत, २० असोज ।

बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो ।

सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा कुहिरोका कारण सुर्खेत विमानस्थल अवतरण गर्न सकिएन, त्यसैले नेपालगञ्ज डाईभर्ट गराइएको हो,’ उनले न्युज कारखानासँग भने, ‘नेपालगञ्जबाट जहाज फेरि सुर्खेत आउन थालेको छ ।

त्रिभुवन विमानस्थलबाट ८ बजे सुर्खेतका लागि उडान भरेको उक्त जहाजमा चालकदलका चार जनासहित ४६ जना यात्रु रहेका छन् ।

आजदेखि मध्य भोटेकोसीको आईपीओ बिक्री खुला

मध्य भोटेकोसी जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले गत ५ वैशाखमा नेपाल धितोपत्र बोर्डबाट कुल एक करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।