६ घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब घाटा

हाम्रो सन्देश संवाददाता

न्युयोर्क, १९ असोज ।

सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् ।

नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेप्टेम्बरमा मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।

के कारणले अकस्मात अवरुद्ध भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ?

संसारभरि अर्बौँ प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भातृ सामाजिक सञ्जालहरु इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकी नेपाली समयअनुसार करिब साढे नौ बजेदेखि ठप्प छन्।

विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन्।

प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका छन्।

फेसबुक यो तहमा डाउन भएको सम्भवत: पहिलोपटक हो। यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटिका कारण फेसबुक केही समय बन्द भएको थियो।

२०१९ मा भर्जमा प्रकाशित डकुमेन्टअनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटिलाई ‘बिग डिल’ भनेका थिए।

संसारभरिका सञ्चारमाध्यमहरुले फेसबुकको यो प्राविधिक कमजोरीलाई ब्रेकिङ समाचार भनेर पस्किरहेका छन्।