कांग्रेसलाई रूपान्तरण चाहिएको हो : वरिष्ठ नेता पौडेल

हाम्रो सन्देश संवाददाता

तनहुँ, १७ असोज ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा पुस्तान्तरण नभएर रूपान्तरण आवश्यक भएको बताएका छन् । गृह जिल्ला तनहुँको शुक्लागण्डकीमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले १४औँ महाधिवेशनले कांग्रेसमा रूपान्तरण ल्याउनुपर्ने बताए ।

‘एकाथरिले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेका छन् । पुस्तान्तरण होइन, कांग्रेसलाई रूपान्तरण चाहिएको हो । कांग्रेसको आजको अवस्थालाई बदल्नुपर्छ’, उनले भने ।

महाधिवेशनले नयाँ सन्देश लिएर आउने उनको भनाइ छ । उनले महाधिवेशन पार्टीमा व्यक्ति नभएर प्रवृत्ति परिवर्तन गराउन सिद्ध हुनुपर्नेमा जोड दिए । ‘भ्रष्ट प्रवृत्तिलाई पखाल्ने हो यो महाधिवेशनले । कांग्रेसलाई रूपान्तरण गर्ने हो’, उनले भने ।

पार्टीलाई आफूले जनताको भरोसाको केन्द्र बनाउने उनको जिकिर छ । कांग्रेसलाई सही दिशामा डोर्‍याउने वरिष्ठ नेता पौडेलको दाबी गरे । नेताहरूको व्यवहार, आचरण र कर्तुतले नेपाली जनतामा राजनीतिप्रति वितृष्णा छाएको उनको भनाइ छ ।

‘जुन जोगी आए पनि कानै चिरेका भनेर जनताले सबै नेतालाई मुख फर्काएर, नाक खुम्च्याएर हेर्नुपर्ने नेताले नै बनाएका होइनन् र ? यी नेताहरूलाई त मैले भन्ने गरेको छु, तिमीहरूको दिमाग भ्रमैभ्रमले भरिएको छ । भ्रमित मानसिकता लिएर बसेका छौ । त्यसैले तिमीहरूले सारा नेपाली जनतालाई भ्रममा पारेका छौ । जनतालाई भ्रममा पार्ने अधिकार तिमीहरूलाई छैन भनेर मैले च्यालेन्ज गरेको छु’, सबै राजनीतिक दलका शीर्ष नेताप्रति आक्रोश पोख्दै उनले भने ।

मुलुकमा जो मान्छे कार्यकारिणी पदमा पुगेका छन्, तिनले सही ढंगले नेतृत्व नगरेको उनको आरोप छ । सही ढंगले कुर्सी र पदको उपयोग भएमा मुलुक परिवर्तन हुने वरिष्ठ नेता पौडेलले बताए । देशमा भ्रष्टाचार रोक्नलाई प्रधानमन्त्रीबाटै सुरु हुनुपर्नेमा उनको जोड छ ।

‘नेपाली कांग्रेस भ्रष्टाचारको विरुद्धमा खुलेर बोल्न सक्ने पार्टी हुनुपर्छ । भ्रष्टाचारको विरुद्धमा खुलेर बोल्न सक्ने पार्टी हुने कि नहुने, अहिलेको यो नेतृत्वपले ? के खुलेर धक फुकाएर भ्रष्टाचारको विरुद्ध बोल्न सक्छ ? आज त्यस्तो कांग्रेस चाहिएको छ नेपाल र नेपाली जनतालाई । १४औँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो’, उनले दाबी गर्दै भने । उनले ध्रुवीकरणमा नलाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पुराना र थोत्रा भएकालाई विस्थापित गर्दै नयाँ नेतृत्व स्थापित गर्न १४औँ महाधिवेशन सफल हुने बताए ।