जहाज चढ्न लागेका १० जना नेपालीको भीसा नक्कली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ असोज ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्की हुँदै क्रोएसिया जान लागेका १० जना नेपालीको भीसा नक्कली भएको आशंकामा उनीहरुलाई अध्यागमन विभाग पठाइएको छ ।

शनिवार टर्कीस एअरलाइन्सको टीके ७२७ उडानबाट इस्तानबुल हुँदै क्रोएसिया जान लागेका १० जनामध्ये आठ जना सर्लाहीका र दुई जना सप्तरीका हुन् ।

मानव बेचबिखन तथा ओसारपसार गर्ने अन्तर्राष्ट्रिय गिरोहको जालोमा परेर अमेरिकालगायतका मुलुकमा जाने उद्देश्यले हिँडेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।

विमानस्थलबाट नियन्त्रणमा लिएर कारबाहीको लागि अध्यागमन विभाग पठाइएकाहरुमा सर्लाहीका विष्णुबहादुर ढुंगाना,चक्रबहादुर थापा,देवलाल बलमपाकि, वीरबहादुर क्याप्छाकी,दोरिकलाल लामिछाने मगर,आर एन बराइली, रामेश्वर राय र रामजीवन राय छन् ।

त्यसैगरी सप्तरीका ललितकुमार चौधरी र सगेन्द्रकुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।