मलेसियामा नेपाली युवा सम्पर्कविहीन, दशैंको मुखमा परिवारमा रुवाबासी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ असोज ।

रोजगारका लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका– ७ का ३६ वर्षीय कमल नेपाली सम्पर्कविहीन भएका छन् । उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमती माया नेपालीले बताइन् ।

कमल २०६८ सालदेखि मलेसियाको HLRB PROCESSING SDN कम्पनीमा कार्यरत छन् ।

उनको भदौ २१ गतेसम्म परिवारसँग सम्पर्क भएको थियो । भदौ २३ गते साँझ कमलका साथीहरूले परिवारलाई फोन गरे । साथीहरूका अनुसार कमललाई मलेसिया प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण साथीहरूले खुलाएनन् । परिवार झनै अनभिज्ञ छ । ‘परदेशको कुरा पक्राउ परे वा अरू केही भयो अत्तोपत्तो छैन,’ मायाले रुँदै भनिन्,’ मैले कहाँ गएर गुहार मागौँ ।’ कमल पछिल्लो समय ०७६ माघमा मलेसिया गएका थिए ।

कमलको खोजी गरिदिन आमा बाटुवा नेपाली र श्रीमती पत्रकारहरू खोज्दै तम्घास आएका छन् । मलेसियामा कमलसँगै धुर्कोट गाउँपालिका– ६ का धनुष जिसी कोठामा बस्दै आएका थिए । अहिले परिवारले केहिलेकाहीँ मलेसियामा रहेका जिसीसँग सम्पर्क गर्ने गरेका छन् । चाडपर्वका वेला परदेश पसेको आफन्त बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ ।

‘दसैँमा सबैको परदेशी घर आउँदा छोराको अत्तोपत्तो छैन,’ आमाले गहभरि आँसु बनाउँदै भनिन्, ‘पत्रकारहरूले न्याय दिनुहोस् ।’ कमलको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । श्रीमती मायाले १०औँ वर्ष एउटै कम्पनीमा बिताएको कमलको विषयमा कम्पनीले समेत परिवारलाई कुनै जानकारी नदिएको गुनासो गरिन् ।